साँझ निकै चिसो थियो। कोठाभित्र छिर्दा जुत्ता खोल्ने ठाउँसम्म आइपुग्दा नै दिनभरको थकान शरीरबाट होइन, मनबाट खसिसकेको जस्तो लाग्यो। झोला भुइँमा राखेँ र कुर्सी तानेर बसेँ, तर शरीर बसे पनि मन बसेन। त्यो अझै सडकको भिड, बसको झ्याल, अन्तर्वार्ताको कोठा र उही एउटा वाक्य वरिपरि घुमिरहेको थियो— “हामी खबर गर्छौं।” आज फेरि एउटा अन्तर्वार्ता सकिएको थियो, र आज फेरि अनिश्चितताले मेरो साँझ कब्जा गरेको थियो।

काठमाडौँको साँझ सधैँ अचम्मको लाग्छ। दिनभर मानिसको पसिना, समय र सपना सोस्छ, अनि साँझ पर्दै जाँदा चम्किला बत्ती बालेर भोलिको आशा बेच्न थाल्छ। यही शहरमा म पनि आफ्नै आशा बोकेर हिँडिरहेको एक नौजवान हुँ—झोलाभित्र डिग्री छ, आँखाभित्र सपना छन्, तर बैंक खातामा शून्य। शहरले सोध्दैन तिमी कति पढेका छौ, उसले सोध्छ—आज कसरी टिक्यौ?
गाउँबाट निस्कँदा बाबुले भनेका थिए, “पढेपछि दुःख सकिन्छ।” त्यो वाक्य आज पनि कानमा घन्किन्छ। कलेजका मोटा किताब पल्टाउँदा मलाई पनि लाग्थ्यो, दुःखको अन्तिम पृष्ठ अब धेरै टाढा छैन। तर शहर आएपछि बुझें—यहाँ दुःख हरेक वर्ष नयाँ संस्करणमा छापिन्छ, अझ परिष्कृत रूपमा, अझ मौन तरिकाले। यहाँ दुःख चिच्याउँदैन, विस्तारै थकाउँछ।
पहिलो जागिर खोज्दा आत्मविश्वास भरिएको थियो। दोस्रो प्रयासमा त्यो आत्मविश्वास अलि खिइँदै गयो। तेस्रोमा पुग्दा आत्मसम्मानसँग सम्झौता गर्न थालेँ, र चौथो प्रयाससम्म आइपुग्दा म आफैँलाई बुझ्ने प्रयासमा लागेँ। “अनुभव छ?” भन्ने प्रश्नले हरेकपटक उही भित्तामा ठोक्काइदिन्छ। जागिर बिना अनुभव हुँदैन, अनुभव बिना जागिर हुँदैन—यही गोलचक्करमा हामीजस्ता हजारौँ नौजवान घुमिरहेका छौँ, निस्कने बाटो खोज्दै।
कहिलेकाहीँ रिसले मन भरिन्छ। डिग्रीले ढोका खोलिदिन्छ भन्थे, तर ढोका खुलेपछि पनि भित्र पस्न अनुमति किन चाहिन्छ भन्ने प्रश्नले पोल्छ।
कहिलेकाहीँ आफैँसँग लाज लाग्छ, विशेष गरी घरबाट पैसा माग्दा। “अब त केही भयो होला नि?” भनेर आमाले सोध्दा, त्यो प्रश्नभन्दा भारी त मेरो मौन उत्तर हुन्छ।
तर सबैभन्दा गाह्रो चाहिँ अन्तर्वार्तापछिको मौनता हो।
प्रश्न सकिएपछि आउने त्यो छोटो सन्नाटा, जहाँ निर्णय लेखिँदै हुन्छ तर कसैको ओठ हल्लिँदैन।
त्यही मौनतामा हाम्रो भोलि झुण्डिएको हुन्छ—कहिले आशाको धागोमा, कहिले निराशाको।
आज पनि एउटा सानो कार्यालयको रिसेप्सनमा अन्तर्वार्ता दिन पुगेँ।
न ठूला शब्द थिए,
न भव्य ।
तर प्रश्नहरू असाध्यै गहिरा थिए—
“तनावमा तपाईंको प्रतिक्रिया कस्तो हुन्छ?”
“कम तलबमा काम गर्न सक्नुहुन्छ?”
“तपाईंको इगो कति ठूलो छ?”
त्यही दिन मैले बुझें—रोजगारी केवल सीपको परीक्षा होइन रहेछ, यो त धैर्यको पनि परीक्षा रहेछ।
र त्यहीँ एउटा कुरा झन् स्पष्ट भयो—
रिसेप्सनिष्ट त साह्रै “ठूलो पद” रहेछ।
मानिस रिसाउँदै आएका हुन्छन्।
हाकिमले मलाई गाली गरे पनि देखाउन मिल्दैन,
फेरी त्यो पीडा देखाइहालेँ भने—
बाहिरबाट आएको मानिसले मलाई नै असभ्य ठान्छ।
कस्तो जागिर हो यो—जहाँ गल्ती देखिँदैन, तर सहनशीलता अनिवार्य हुन्छ। जहाँ आवाज उठाउन पाइँदैन, तर सबैको आवाज सुन्नुपर्छ। जहाँ आफैँ सानो हुनुपर्छ, ताकि अरू सहज हुन सकून्। मुस्कान यहाँ सजावट होइन, जिम्मेवारी हो।
रिसेप्सनिष्टको जागिरका लागि यति धेरै आत्मपरीक्षण गर्नुपर्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ। अन्तर्वार्तामा सोधिएका प्रश्नहरू अझै दिमागभित्र घुमिरहेछन्—जति सम्झन्छु, उति मन गह्रौँ हुन्छ। लाग्थ्यो MBA गरेको छु, सजिलै केही न केही पाइन्छ। तर यथार्थ अर्कै रहेछ। काठमाडौँमा बाँच्नु आफैँमा परीक्षा हो। घरबाट बारम्बार पैसा माग्नु पर्दा मन कुँडिन्छ। पढाइ सकेर बाबु–आमालाई सहयोग गर्नुपर्ने उमेरमा उल्टै हात थाप्दा, बुढेसकालमा उनीहरूलाई के जवाफ दिने?
आँखा बन्द गर्छु। अन्तर्वार्ताको कोठा फेरि आँखाअगाडि खुल्छ। सामुन्ने टेबल, तीन जना मानिस, कागजको थुप्रो। एक जनाले सोध्छ—
“तपाईंको अगाडि कसैले रिसाएर बोल्यो भने के गर्नुहुन्छ?”
मैले भनेको थिएँ— “शान्त रहने प्रयास गर्छु।”
जवाफले सन्तुष्टि मिलेन बरु अर्को प्रश्न आयो—
“आफ्नै समस्या धेरै भए पनि मुस्कान राख्न सक्नुहुन्छ?”
त्यहीँ कतै मन चसक्क भयो। किनकि त्यो प्रश्न जागिरको थिएन—जीवनकै थियो।
अब बुझ्दैछु—रिसेप्सनिष्ट सूचना पास गर्ने मेसिन होइन। ऊ त भावनाको फिल्टर हो, बाहिरको तनाव रोक्ने ढाल हो। सायद त्यसैले अन्तर्वार्ता यति अप्ठ्यारो थियो। त्यहाँ मेरो डिग्री होइन, मेरो संयम तौलिँदै थियो। मेरो आत्मसम्मान होइन, मेरो आत्मनियन्त्रण जाँचिँदै थियो।
शहरले हामीलाई थकाउँछ, तर भाँच्दैन—यदि हामी आफैँलाई छोडेनौँ भने। कहिलेकाहीँ लाग्छ, म असफल हुँदैछु। तर फेरि सम्झिन्छु—यो असफलता होइन, यो त संघर्षको मध्य अध्याय मात्र हो।
रात झन् गहिरिँदै जान्छ। कोठाभित्रको सन्नाटाजस्तै मनभित्र पनि एउटा मौन बिस्तारै फैलिँदै जान्छ—न चर्को, न डर लाग्दो, तर भारी। मोबाइलको स्क्रिनमा बजिरहेको **राजेश पायल राई**को गीत “नमाग मसँग सहारा नमाग, भुइँमा छु आकासका जूनतारा नमाग………घाम खोज्दै हिँडे बादल झरीमा……..डुबेको छु आफैँ भुमरीहरूमा…………” बिस्तारै बन्द गर्छु, अनि निदाउने प्रयत्न गर्छु। शब्दहरू बन्द भए पनि भाव भने अझै जागै छन्।
भोलि फेरि एउटा नयाँ आवेदन पठाउनेछु—सायद उही पुरानो आशा बोकेर, सायद उही डर मनभित्र लुकाएर। फेरि अस्वीकार आउला, वा फेरि लामो प्रतीक्षा; त्यो त थाहा छैन। तर अब एउटा कुरा भने स्पष्ट हुँदै गएको छ—म यो यात्रामा एक्लो छैन। यो थकान, यो पर्खाइ, यो चुपचाप सहेर अघि बढ्ने साहस मेरो मात्र होइन। यो त शहरको उज्यालोमुनि आफ्नो भोलि खोज्दै हिँडिरहेका हजारौँ नौजवानको साझा कथा हो—जो हार मानेका छैनन्, केवल थाकेका छन्, र थकानलाई थामेर पनि भोलितर्फ अघि बढिरहेका छन्।
……………………………………
pankajaj51@gmail.com