
म सानै देखिको चिया पारखी । चिया खान कतिसम्म गर्थे भने घरमा चियापत्ती छैन भने पनि चियापत्तीको साटो चिनी डढाएर चिया बनाउनुस् भनेर आमालाई भन्ने । चिनी नभए फिका चिया नै खाईदिने । अरु चिया पिउँछन् तर म चिया खान्छु । तर म दुईथरि चिया कम खान्छु ‘ग्रीन टी’ र ‘मिल्क टी’ । कफि चाँही मुड हेरेर । झमझम पानी परिरहेको रातमा टेबल ल्याम्पको मधुर उज्यालोमा कुनै सस्पेन्स थ्रिलर वा रोमान्टिक उपन्यास तातो कफि सहित पढ्नु मज्जा लाग्छ । झमझम पानीमा बाईकमा अफिसमा रुझ्दै गएको दिन अफिसको काम सँगसगै ‘लेमन टी’ खान मन लाग्छ ।
तर साधारणतया मलाई बाटो छेउमा पकाउने टहरो चिया पसलमा मन मिल्ने साथीहरुको ग्याङ्गमा बसेर चिया खान एकदम मन पर्छ । विद्यार्थी जीवनमा प्राय: हामी एक ठाउँमा चिया खान गईरहन्थ्यौँ। बल्खुको परीक्षा नियन्त्रण कार्यालय भित्र छिर्ने घुम्तीमा सानो टहरो छ, त्यहीँ बसेर चिया खान्थ्यौँ। म एक्लै पनि प्रायस; बल्खु कुनै काममा गएँ भने त्यहीँ बसेर चिया खान्छु । हुन त म यात्रा गर्दा कतै बाटोको साईडमा टहरो चिया पसल देखेँ भनेपनि मिलेसम्म गाडी रोकेरै भए पनि चिया खान्छु तर बल्खुको त्यो चिया पसलले छुट्टै स्थान बनाएको छ । अरुबेला बिरलै ‘मिल्क टी’ खाने म त्यहाँ पुगेपछि ‘मिल्क टी’ नै माग्छु ।
मलाई त्यहाँ कुनै भिआईपी सत्कार हुँदैन तर पनि किन किन मलाई एकदम मिठो लाग्छ । त्यहाँ कुनै ‘ब्याकग्राउन्ड म्युजिक’ पनि हुन्न । भव्य साजसज्जा पनि हुँदैन त्यहाँ । झिलमिल बत्ती पनि छैन त्यहाँ । केवल त्यहाँ चुलो ढाक्ने र एकजना मान्छेलाई घामपानी रोक्ने एक जस्तापाताको टहरो छ । ४ वटा मुढा छन् दायाँ बायाँ बस्ने । १५ रुपैँयामा एक कप चिया । सायद चिया पकाउने भाँडो पनि महिनामा एकपटक मज्जाले माझ्छिन् होला दिदिले । तर बिछट्टै मिठो लाग्छ त्यहाँको चिया मलाई । पहिलो कारण त मलाई रोड साईडमा पकाउने टहरो चिया पसलमा चिया खान छुटै मज्जा लाग्छ । खुला आकाश अनि बाटोमा हिड्ने मानिसहरुको आवागमन हेर्दै चियाको चुस्की लिदाँको मज्जा त “फाईभ स्टार”मा बसेर कफि पिउँदा पनि हुन्न । मान्छेको चहलपहल हेर्दाहेर्दै कतिबेला चिया सकिन्छ थाहा नै हुँदैन । त्यसमाथि हल्का डढेको चियाको बास्ना नै अर्कै हुने । सिसाको गिलासमा राखेको तातो चियाले ओँठ हल्का पोल्दा चियाको स्वादै अर्कै हुन्छ । अझ मन मिल्ने साथीको गफ सँगै चिया खानुको आनन्द बजोड हुन्छ ।
दोस्रो कारण त्यहाँ छुट्टै भावना जोडिएको छ । कलेज पढ्दा परिक्षा नियन्त्रण तिर जादाँ साथीहरुको ग्याङ्ग बनाएर जाने । परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीको व्यवहार र लाईन बसेर थकित हुने हामी काम सकेपछि त्यही बसेर चिया खान्थेम । बिद्यार्थी जीवनमा गोजीमा टन्न पैसा पनि नहुने अनि बाबु आमासँग मागेर ४०० वाला चिया पनि किनेर खाना आँट नआउने । साथीभाईसँग जे जति छ त्यति नै जम्मा गरेर खाने चलन । साथी भाई सँग जिस्किदैँ आज फलानोको नाममा भन्दै ४-५ कप चिया खान्थ्यौँ।
नेपाल छाडी अन्य देश जाँदा समेत मैले त्यही चिया पसललाई ‘मिस’ गरेँ । २०१९मा म बेलायतको डनकास्टर बाट एडिनबरा जाँदै थिएँ । झमझम पानी परिरहेको थियो । ट्रेनको झ्यालमा पानीको थोपा थोपाले बाहिरको हरियो वातावरणलाई लेन्सले जस्तै देखाएको थियो । हल्का चिसो अनुभव भईरहेको थियो । चारघण्टाको त्यो यात्रामा म फेसबुक चलाउँदै थिएँ अचानक साथीहरुले मलाई त्यही बल्खुको चिया पसलको फोटो पठाईदिए । अनि त के चाहियो । तर त्यहाँ बल्खुको जस्तै रोड साईडमा चिया पसल नहुने । चियाको प्यासले मलाई छटपटी भईसकेको थियो ।
त्यो ट्रान्सपेनान एक्सप्रेसमा फस्ट क्लासको टिकटलाई कम्प्लिमेन्टरी रिफ्रेसमेन्टमा कफि र खाना दिने व्यवस्था पनि थियो । चियाको हुटहुटीले स्टाफ सँग कफि मागे । स्टाफले तु ईटालियन ‘लभास्स’ कफि पनि ल्याईदिए तर त्यो कफि यस्तो खल्लो लाग्यो कि तीन पाउन्ड तिर्दा पनि मैले एक लाख नै तिरे जस्तो लाग्यो । कुनै स्वाद विहिन तरल पदार्थ जस्तो लाग्यो । चिसो चिसो त्यो मौसममा बल्खुको चिया पाएको भए मैले कति पिउँथे होला । अथवा त्यो ट्रेन बिश्राम लिने ठाउँमा हाम्रो नेपालमा जस्तै रोड साईडमा चिया पसल भएको भए कस्तो मज्जाको यात्रा हुन्थ्यो होला। खैर त्यो त्यहाँ सम्भव थिएन । त्यसपछि त मेरो पुरै यात्रा चिया खाने तलतल र त्यही पसल र चिया सम्झदै सकियो ।
घरमा कुनै पाहुना आए चिया दिएर सत्कार गर्ने हाम्रो चलन मलाई राम्रा संस्कार मध्येको एक लाग्छ । खाना खाएपछि पनि म एक कप चिया खाने गर्छु । चिया खाने अफरलाई म सकेसम्म ‘नो’ भन्दिन। चाहे त्यो अफिस होस् या घर ।
डिसेम्बरमा विदेशबाट नेपाल फर्केपछि लगत्तै बल्खु गएर चिया खाएको एक फोटो पोष्ट गर्ने सोंचमा थिए। तर लकडाउनले त्यहाँ पुगेर चिया खाने वातावरणनै मिलेको छैन । सायद त्यो पसल अझै पनि छ होला। लकडाउन खुलेपछि त्यहि बाटोमा बसेर म सँग चिया खान कसैलाई मन छ ?
Twitter:@pradpariyar
No Comment! Be the first one.