फुलुन् मनका फूलहरू, स्नेहको गीत भई,
बलुन् मनका दीपहरू, बिहानीको शीत भई।
क्षणभंगुर जीवनको दुखान्त परिवेशमा पनि,
रहून् बोलिएका शब्दहरू, नबिझाउने प्रीत भई।।
गुन्जून् मनका भावहरू, पिरतीको संगीत भई,
पाऊन् गति उन्नतिले, बाधामाथि जीत भई।
मानव र मानवताबीच खाडल खनिएको यस क्षणमा,
रहून् करुणा र मानवता, एक-अर्काका मीत भई।।
नटुटून् यहाँका सम्बन्धहरू, स्वार्थमा सीमित भई,
नरोकिऊन् कुनै पाइलाहरू, अवसरले कुण्ठित भई।
अहङ्कार चुलिएर पोखिएको यस घडीमा,
झुकून् भाग्यमानी शिरहरू, नम्र र विनीत भई।।
चम्कून् भाग्य र कर्म, एक-अर्काका हित भई,
बढून् मनका रहरहरू, अजर-अमर धीत भई।
चुमोस् सफलताले सगरमाथाको शिखर सबैको,
कहिल्यै नरित्तिने महासागरको अमित भई।।
Twitter@pradpariyar
No Comment! Be the first one.