त्यो साँझ म एक्लै रेस्टुरेन्टमा बसेको थिएँ।
बाहिर पानी पर्दै थियो, र भित्र मेरो हातमा मेनुको पाना पल्टिँदै थियो। मःमः, थकाली सेट, चाउमिन… हरेक नामको छेउमा मूल्य लेखिएको थियो। कुनैको छेउमा रंगीन तस्बिर, कुनैको छेउमा “स्पेशल” भन्ने शब्द।
अचानक मनमा एउटा प्रश्नले घोच्यो :- यहाँ सबथोक लेखिएको छ। तर नुन… नुन कहाँ छ?
जुन कुरा बिना यो मेनुको एउटै परिकार पनि परिकार बन्दैन, त्यही कुराको न नाम छ, न मूल्य, न तस्बिर। जो सबथोकमा छ, ऊ कहीँ छैन।
र त्यही क्षण, मलाई थाहा छैन किन — मनले अर्कै सोच्यो।
किनकि मैले मेनुमा नुन खोजेको थिइनँ। मैले त आफ्नो जीवनका ती अनुहारहरू खोजेको रहेछु — जो मेरो हरेक दिनमा घुलेर बसेका छन्, तर जसलाई मैले कहिल्यै “देखेको” छैन।
नुनको नियति नै घुल्नु हो।
ऊ भाँडोमा छँदा उसको आफ्नै रूप हुन्छ, आफ्नै दाना हुन्छन्, आफ्नै अस्तित्व हुन्छ। तर जुन क्षण ऊ तातो तरकारीमा खस्छ — ऊ आफूलाई मेटाउँछ। दाना बिलाउँछन्, रूप हराउँछ। ऊ केवल स्वाद बनेर बाँच्छ, र प्रशंसा अरूले लैजान्छ।
तरकारी मीठो भयो भने तारिफ तरकारीको हुन्छ। दाल मीठो भयो भने जस पकाउनेले पाउँछ। नुनको नाम? नुनको नाम कसैले लिँदैन।
र नुनले कहिल्यै गुनासो पनि गर्दैन।
तपाईले चिनेका कोही छन् यस्ता मान्छे?
म चिन्छु।
तीमध्ये एक हुन आमा — जो सबेरै उठेर सबैको भात पकाउँछिन्, अनि सबैले खाइसकेपछि सबैभन्दा अन्तिममा, चिसो भइसकेको भात, चुपचाप खान्छिन्। जसको थकाइ कुनै दिन कसैले सोधेन, किनकि उनको मेहनत “आमाको काम” भनेर सामान्य बनाइदिएम्।
र बुवा — जसका चप्पल वर्षौँदेखि उही छन्, तर छोराछोरीका जुत्ता हरेक साल नयाँ। जसले आफ्नो रहर कहाँ पुरे, कसैलाई थाहा छैन। जो फोनमा केवल यति सोध्छन् — “पैसा पुगेको छ?” — किनकि माया भन्न नजान्नेहरूले माया त्यसरी नै सोध्नेरहेछन्, व्यक्त गर्ने रहेछन्।
र त्यो साथी — जो तिम्रो हरेक दुखमा राति दुई बजे पनि फोन उठाउँछ। जसले तपाईको खुसीमा आफ्नो दुख लुकाएर ताली बजाइदिन्छ।
र त्यो मान्छे — जसले तपाइलाई सधैँ मोबाइल, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा मेसेज पठाउँछ। “खाना खायौ?” देखि “पुगेर खबर गर है” सम्म। जसको ख्याल तपाइप्रति यति निरन्तर छ कि तपाइलाई त्यो हावा जस्तै लाग्दछ — नभई नहुने, तर कहिल्यै नदेखिने।
यी सबै नुन हुन्।
सम्बन्धको मेनुमा यिनको नाम कहीँ लेखिँदैन। तर यिनै बिना, जीवनको कुनै परिकार पूरा हुँदैन।
तर घुल्नेहरूको छातीभित्र एउटा दुख हुन्छ — यति चुपचाप, कि त्यो दुखको पनि आवाज हुँदैन।
खाना खानेले कहिल्यै सोच्दैन — यो मिठासभित्र कति नुन घुल्यो होला? कति पटक कसैले आफूलाई बिसायो होला? कति रात, कति रहर, कति पालो — कसैले चुपचाप मेरो नाममा लेखिदियो होला?
ठिक्क परेको नुनको कहिल्यै चर्चा हुँदैन।
चर्चा त तब हुन्छ — जब त्यो हराउँछ।
अनि एक दिन, घुल्ने मान्छे थाक्छ।
होइन, ऊ रिसाउँदैन। कराउँदैन। आरोप लगाउँदैन। घुल्नेहरूसँग त्यो कला नै हुँदैन।
ऊ त बस्… चुप लाग्छ।
बिहानको सन्देश आउन छोड्छ। “खाना खायौ?” भन्ने प्रश्न मर्छ। फोन बज्न छोड्छ। त्यो निरन्तर बगिरहेको मायाको धारो — कुनै आवाज बिना, बन्द हुन्छ।
तर कतै… कतै केही छुटेको छ।
के छुटेको हो, पहिला थाहा हुँदैन। बस्, हरेक कुरा खल्लो लाग्न थाल्छ। हाँसोमा पहिलेको मिठास छैन। साँझ पहिलेभन्दा लामो लाग्छ। भीडमा उभिएर पनि एक्लो महसुस हुन्छ।
अनि त्यो खल्लोपनको बीचमा उभिएर, एक दिन, छाती चिरिने गरी थाहा हुन्छ —
जसलाई मैले “सामान्य” ठानेँ, त्यही त मेरो जीवनको सिङ्गो स्वाद रहेछ।
तर संसारको सबैभन्दा क्रूर नियम यही हो — यो ज्ञान सधैँ ढिलो आउँछ। कहिले यति ढिलो, कि धन्यवाद भन्ने मान्छे नै बाँकी रहँदैन। कहिले आमाको हातको दाल फेरि खान पाइँदैन। कहिले त्यो नम्बरमा फोन त जान्छ, तर उठाउने मान्छे अर्कै संसारमा पुगिसकेको हुन्छ।
उपस्थितिले नबुझाएको मूल्य, अनुपस्थितिले एकै क्षणमा बुझाइदिन्छ।
तर अनुपस्थिति भन्ने शिक्षकको शुल्क धेरै महँगो छ — उसले पछुतो बाहेक अरू केही स्वीकार्दैन।
त्यसैले आज, यो पढिरहनुभएको तपाईंसँग मेरा दुई वटा अनुरोध छन्।
पहिलो — एकछिन आँखा चिम्लेर सोच्नुहोस्। तपाईंको जीवनको नुन को हो? को हो त्यो, जसको ख्याल तपाईंलाई “सामान्य” लाग्न थालेको छ? आमा? बुबा? कोही साथी? कोही… जसलाई तपाईंले धेरै भयो “धन्यवाद” भन्नुभएको छैन?
आज उहाँलाई भन्नुहोस्। भोलि होइन, आज।
किनकि कृतज्ञता फूल जस्तै हो — मान्छे छँदै चढाउनुभयो भने पूजा हुन्छ, गइसकेपछि चढाउनुभयो भने केवल श्रद्धाञ्जली।
दोस्रो — र यदि तपाईं आफैँ कसैको जीवनको नुन बन्नुभएको छ… यदि तपाईंको घुलाइ कसैले देखेको छैन, तपाईंको मेहनत “सामान्य” बनाइएको छ, तपाईंको माया अधिकार ठानिएको छ भने —
आत्तिनु पर्दैन। रुनु पर्दैन। आफ्नो मूल्य प्रमाणित गर्न कराउनु पनि पर्दैन।
किनकि नुन कराएर नुन बन्दैन।
तपाईंको मौनताले नै संसारलाई सिकाउनेछ — तपाईं को हुनुहुन्थ्यो।
खल्लोपनले बोल्नेछ, जुन कुरा तपाईंको उपस्थितिले कहिल्यै बोल्न पाएन।
यो लेख पढेर तपाईंको मनमा कसैको अनुहार आयो भने — ढिलो नगर्नुहोस्। त्यो अनुहारलाई आजै भन्नुहोस्: “तपाईं मेरो जीवनको नुन हुनुहुन्छ।”
No Comment! Be the first one.