साँझको ७ बजिसक्यो झमझम पानी परिरहेको छ । अत्यासलाग्दो जंगल बीचको उकालो एक्लै हिडिँरहेको छु । करिब १२ कि मी भयो बाटोमा चरो मुसो भेटिदैँन । अब भेट्ने आस पनि सकियो । प्रकृतिको काखमा रमाउने म आज किन हो नरमाईलो अनुभव भईरहेको छ । मलाई पारीको सिरुक गाउँ जानु छ जहाँ हिजो मात्र ७ घर पहिरोले बगाएर लग्यो । १४ जना बेपत्ता छन् ३ जनाको मृत्यु भईसकेको अपुष्ट समाचार छ । पहिरोको क्षतिको विवरण संकलनको लागि मलाई आजै पुग्नु पर्ने, अग्ला पहाडबीच खोँच हुँदै यहाँसम्म त आईपुगेँ तर गाउँ पुग्न अझै कति लाग्ने हो थाहा छैन ।
पानी रोकिने कुनै गुञ्जायस छैन एकछिन सुस्ताउन चौतारीमा बसे । तलबाट कोही अलिक छिटो छिटो हिड्दै आएको देखेँ । उनी नजिकै आएपछि त्यही चौतारीमा बसिन् जहाँ म बसेको थिएँ। त्यस्तो बर्षातमा पनि उनी छाता नओढीकन हतार हतार हिँडेको देख्दा लाग्थ्यो उनी कुनै जरुरी काममा जाँदैछिन् । एकान्त बाटोको यात्रामा बातचित गर्ने साथी भेटियो भनेर म चाहीँ केही हर्षित भएँ । सोधे, ‘’कहाँसम्म पुग्ने हो तपाईँ ?”
अनिच्छुक भावमा उनले भनिन्, ‘’म पारी सिरुक गाउँमा पुग्ने।’’ सायद उनी थप बोल्न चाहन्नन् ।
उनी अब त्यहाँ थप बस्न पनि चाहन्नन् । म पनि उठेँ र हिँडे । बाटो उही गन्तव्य उही । उनी र म मात्र । तर उनी बोल्न नचाहेको स्पष्ट बुझिन्छ । तर मलाई त बोल्नु थियो थप प्रश्न तेर्साईहाले ।
‘’कहाँ बाट आउनु भएको तपाईँ?’’ मैले उनी नजिकै पुगेर भने ।
“म पोखरा बाट आएको ।” उनी मलिन स्वरमा बोलिन् ।
मलाई छटपटाहट भईरहेको थियो। उनीसँग थप कसरी बोल्ने भनेर । भनेको बेलामा त कुनै शब्द पनि नआउने रहेछ । तर दिमाग त्यही ध्याउन्नमा थियो ।
सोधेँ, ‘’कसरी आईपुग्नुभयो यस्तो लकडाउनमा?’’
“नयाँपुल सम्म एक जना सरसँग आएको त्यहाँबाट यता त गाडी आउँदैन । अनि हिड्दै आएको ।”
हुन त मेरो छाताले मलाई पनि कहीँ ओभानो त राखेको थिएन तर पनि उनलाई बर्षातमा त्यत्तिकै बतासिएर हिडेँको देखेर छाता ओढ्नुस् भन्न मन लागेको थियो । कलेज जीवनमा पढेको श्यामप्रसाद शर्माको ‘आइमाई साथी’ निबन्धको याद आयो । पानी पर्दा छाता ओढ्न गरेको ‘अफर’ मार्फत लेखकले खाएको खप्की सम्झे अनि भन्ने आँट नै आएन । अनि अब भनेर पनि अर्थ छैन । उनी सबै भिजिसकेकी छन् ।
सायद मेरो मनको कुरा बुझेर हो की उनलाई पनि गफ गर्न मन लागेर हो ।
सानो स्वरमा बोलिन्, ‘’तपाई कहाँ सम्म जाने हो?”
“म पनि त्यही सिरुक गाउँ सम्म पुग्ने ।” मैले उत्तर फर्काए ।
थप कुराकानी होस् भन्ने मेरो मनको चाहना पुरा हुँदै थियो । मैले अलिक नजिकै पुगेर भने, “पोखरामा के गर्नु हुन्छ?”
“म पढ्दै छु, अनि तपाई?” उनको मधुर स्वर अझै उँचो भएको थिएन ।
‘’म फोटो पत्रकार हुँ।’’
‘’ए ए ।’’ यति भन्दै उनी अझै रफ्तारमा कुद्न थालिन् ।
‘’यस्तो पानीमा यतिविधि हतारमा किन नी ।’’ मेरो प्रश्नले उनको पाईलाको गति कम भयो ।
‘’के भनूँ हजुर मलाई आज बर्षात् नै ठिक लाग्यो ।’’
“किन नी?” म झन् प्रश्न गर्दै थिए ।
‘’बर्षातमा म रोएँको आसुँ कसैले देख्दैन त्यही भएर ।’’
उनको यस्तो जवाफले म प्रश्नहीन बनेँ ।
नजिक पुगेर हेरेको उनको आखाँमा साच्चिकै आँसु बगिरहेको देखेँ । सायद धेरै पीडा थियो उनको मनमा । मेरो मनमा कता कता चिसो पसेको थियो ।
‘’अनि हजुर किन सिरुक गाउँमा त?’’ उनको प्रश्नले म झसङ्ग भए ।
भने, ‘’हिजोको पहिरोले के कति क्षति गरायो सो को विवरण लिन हिँडेको।’’
‘’अनि तपाई त पत्रकार, अहिले सम्म के कति क्षतिको विवरण थाहा छ त?”
“७ घर पहिरोले लग्यो रे । अनि ३ जनाको मृत्यु भईसकेको र १४ जना बेपत्ता भएको अपुष्ट समाचार छ ।”
“अनि तपाई चाही घर हिड्नु भएको हो?” मैले सोधे ।
“खोई सर के भनुँ घर भनुँ त कोही छैन तर बर्षेनी घर जान मन लाग्छ ।”
उनको उत्तर मैले बुझ्न सकिन । तर मैले बिषयान्तर गरेर माहोललाई अलिक सहज बनाउन केही उटपट्यांग प्रश्न गरेँ ।
“अनि तपाईलाई डर लागेन यस्तो जंगलको बाटो अनि यस्तो बर्षातको समयमा एक्लै हिड्न?”
‘’खै.. सर जो भिजिसकेको छ उसलाई बर्षातको कुनै डर हुँदैन । पोहोर साल यहि समयमा सिरुक गाउँमा यस्तै पहिरो गयो । राती सुतिरहेका बेलामा पहिरोले मेरो सबै परिवारलाई लग्यो। म अध्ययनको शिलशिलामा पोखरा भएको हुनाले बँचे तर मेरो केही बँचेन। बाँच्ने साहारा सबै टुट्यो । हरेक बर्ष म बाबु आमा अनि सानो भाईको सम्झनामा गाउँ आउँछु तर अहिले पनि त्यस्तै पहिरो गयो रे । थाहा छैन कति क्षति भयो । हामी गाउँमा बस्ने दु:खीलाई त सधैँ यस्तै ।’’ उनले एकसासमै सबै बेलिविस्तार लगाईन् ।
मेरो मुखबाट ‘हो त नी’ भन्ने बाहेक केही निस्केन । तर उनको यो भनाईले मेरो मन च्वास्स घोच्यो । मैले पत्रकारिता सुरु गरेको दिनदेखि हरेक बर्ष यही प्राकृतिक विपद्को बारेमा रिपोर्टिङ् गर्दै आए । हरेक बर्ष क्यालेन्डरले विभिन्न चाडपर्व त ल्याउँछ साथसाथै प्राकृतिक विपत्ति बाढी,पहिरो, हुरीबतास र डढेलो पनि ल्याउने गर्छ । निश्चित समयमा हुने यस्ता विपत्ति घट्ने निश्चित भए पनि मेरो रिपोर्टिङमा मृत्यु हुनेको संख्या घटेको छैन ।
अझै कति घट्ने हो थाहा छैन ।
“हवस् सर मेरो एक्लो घर आईसक्यो, म जान्छु । तपाई कसको मा बस्नुहुन्छ?” उनले मलाई सोधिन् । मैले मेरो साथीको नाम भने । उनले परैबाट घर चिनाईदिईन् । उनकै सहमतिमा उनको एक तस्विर कैद गरे ।
हामी फोटो पत्रकारले बाहिरी आवरणको तस्वीर त कैद गर्न सक्यौ । तर ती युवतीहरुको अन्तर्मनको पीडालाई कहिले कैद गर्न सकेनौँ । यदि उनको मनको पीडालाई कैद गर्नसके आगामी दिनमा आउने बिपत्तीको असर कम गर्न सरोकारवालाहरुको मन छुन्थ्यो कि । मेरो मनमा यस्तै कुरा खेल्दै थियो । रातको ९ बजे सकेको थियो फेरी भेट्ने बाचा सहित उनीसँग नम्बर साटासाट गरे अनि मलाई लिन बाटोमै आएको साथीसँग उसको घरतिर हिँडे ।तर मेरो मनमा एउटा वाक्यले साह्रै मन छोयो,”जो भिजिसकेको छ उसलाई बर्षातको कुनै डर हुँदैन” । पानी झमझम परिरहेको थियो तै पनि मैले मेरो छाता ओढ्न चाहिन किनकी म भिजिसकेको थिएँ र मलाई पनि अब बर्षातको कुनै डर छैन ।
No Comment! Be the first one.