त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। यो एउटा यस्तो ठाउँ हो, जहाँ आकाशले कहिलेकाहीँ मानव भावनाहरूलाई आफ्नो विशाल पखेटामुनि समेट्न खोज्छ। यात्रा सुरु गर्नेहरूको उत्साह र विदा दिनेहरूको मौन आँसुले यो ठाउँलाई सदैव जीवनका अनगिन्ती कथाहरूले सजाइराखेको हुन्छ।
विमानस्थलको एउटा कफि सपको कुनामा, एक युवती चुपचाप बसेकी थिइन्। उनको आँखा बारम्बार घडीको सुईमा पुग्थ्यो, तर मन भने समयलाई रोक्न चाहन्थ्यो। समय उनीहरूको लागि असमान थिएन—तर अत्यन्त कठोर थियो।
अर्को छेउमा एक युवक बसेको थियो। उसका हातमा बोर्डिङ पास थियो, तर उनको आत्मा भने त्यहीँ, त्यस युवतीको आँखामा अड्किएको थियो।
“म फर्कन्छु,” उसले बिस्तारै भन्यो।
यी दुई शब्दले समयको बहावलाई क्षणभर रोकिदिएजस्तो लाग्यो। युवकका ओठहरूले थोरै बोले पनि, उनका आँखाहरूमा बिदाइको असह्य पीडा पोखिएको थियो। युवतीले त्यो पीडा बुझिन्। आँसु उनका आँखामा पनि भरिएको थियो, तर झरेन। उनको अनुहारमा मुस्कानको आवरण थियो, जुन केवल प्रेमको विश्वासले मात्र सम्भव बनाउँछ।
“म पर्खिरहनेछु,” उनले भनिन्।
यी दुई शब्दहरूमा एउटा यस्तो विश्वास थियो, जुन सागरको गहिराइभन्दा पनि गाढा थियो। हल्लाको बीच, मानिसहरूको भीडको बीच, उनीहरूको संसार केवल मौनताको एउटा सानो टुक्रामा सीमित थियो। त्यो मौनतामा प्रेमको गहिरो आवाज गुञ्जिरहेको थियो।
युवकले हल्का मुस्कान दिन प्रयास गर्यो। तर त्यो मुस्कानभित्र उसको मनको भारी स्पष्ट देखिन्थ्यो।
“तिमीलाई थाहा छ?” उसले भन्यो। “तिमीलाई अन्तिमपटक हेरिरहँदा मलाई यस्तो लाग्छ, यो नजरलाई कहिल्यै बिर्सिन सक्दिनँ।”
युवतीले आफ्नो आँसु थाम्दै मुस्काइन्। त्यो मुस्कान भित्र आँसुका पहाडहरू थुनिएका थिए।
“त्यसैले त,” उनले भनिन्, “भेट सधैं अमूल्य हुन्छ। तर पर्खाइले मायालाई अझ गहिरो बनाउँछ।”
युवकले उनका शब्दहरूलाई मनमा समेटेर बोर्डिङ गेटतर्फ अघि बढ्न खोज्यो। तर उसका खुट्टाहरू भारी भएका थिए। मानौं, उनको मन र आत्मा दुवै त्यहीँ बस्न चाहन्थे। बोर्डिङको अन्तिम उद्घोषण भयो।
“तिमीलाई सम्झिरहनेछु,” युवकले फेरि भन्यो। “तर तिमीलाई फेरि देख्दा, यो सम्झनाभन्दा अझ गहिरो प्रेम महसुस गर्नेछु।”
युवतीले उसको आँखामा हेरीन्। आँसु अब छचल्किनै लागेका थिए। तर उनले मुस्कुराउँदै भनिन्, “जब तिमी फर्किन्छौ, म यो पर्खाइका प्रत्येक क्षणलाई धन्यवाद दिनेछु। किनभने यसले मलाई तिमीलाई झन् धेरै माया गर्न सिकाएको हुनेछ।”
युवक विमानमा उक्लियो। तर उसको हृदय भने त्यहीँ कफि सपको कुना मै रोकिएको थियो।
जब विमानले टेक अफ लियो, युवतीले आफ्नो आँसुका बाँधहरू खोल्न दिइन्। लामो समयदेखि थुनिएको पीडा अब आँसुले बाहिर झरेर बहन थाल्यो। उनले आफूलाई सम्हाल्न खोजिन्, तर आँसु विमानस्थलका भीडले सजिलै देख्न सक्थ्यो।
ट्याक्सी पार्किङतिर भारी खुट्टाहरूले बिस्तारै अघि बढिन्। ट्याक्सीमा छिरेर आँखा बन्द गरिन्। तर ट्याक्सीको रेडियोमा बजिरहेको कर्ण दासको गीतले उनको भावनालाई थप गहिरो बनाइदियो:
“भेटिएर छुट्नु भन्दा नभेटिएकै जाती हुन्थ्यो,
हामी बीचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो…”
गीतले उनको मनमा ती बिदाइका क्षणलाई बारम्बार बजाइरह्यो। ती शब्द, ती सुर, ती भावना—सबै उसैको लागि लेखिएको जस्तो लाग्यो।
उता, विमानको सिटमा बसेर युवकले आफ्नो डायरी निकाल्यो। उसले लेख्यो:
“पर्खाइ भनेको प्रेमको गहिराइ हो। जसले कुर्न सक्छ, उसले जीवनभर माया गर्न सक्छ।”
उता, युवतीले ट्याक्सीभित्र बसेर फोनमा सन्देश लेखिन्:
“जहाँ गए पनि, तिमी मेरो माया हौ। तिमी जहाँ हुनेछौ, मेरो संसार त्यहीँ हुनेछ।”
सन्देश युवकको फोनमा पुग्यो। उसले मुस्कुराउँदै जवाफ लेख्यो:
“पर्खाइले प्रेमलाई गाढा बनाउँछ। तर भेटले प्रेमलाई अमर बनाउँछ।”
त्यो विमानस्थल, ती आँसु, र ती विदाइका क्षणहरू—यी सबै प्रेमका साक्षी बने।
किनभने प्रेम भनेको केवल साथमा हुनु होइन।
प्रेम भनेको विदाइपछि पनि बाँधिएको विश्वास पनि हो।
र यो कथा एउटा प्रमाण हो—
“जहाँ प्रेम छ, त्यहाँ विदा केवल भेटको सुरुवात हो।”
No Comment! Be the first one.