जब पहिलोपटक उनलाई देखेँ, लाग्यो कुनै चित्रकारले आफ्ना सबै रंगहरूसँग एउटा अनुपम चित्र बनाएको छ। उनको आँखामा त्यो चमक थियो, जसले दिनको उज्यालोलाई पनि पछि छाड्थ्यो। उनको मुस्कानमा यस्तो जादु थियो, जसले कसैको पनि मन नछोई छोड्दैनथ्यो।
पहिलो भेटमा हामी जति नजिक भएर बातचित गर्यौँ र हामी बीचको जस्तो सहजता भयो त्यो सायद अरू कसैको भेटघाटमा दुर्लभ हुन्थ्यो होला। उनको निष्कपटता अनि स्वच्छन्द बोली र स्नेहपूर्ण व्यवहार जसले शब्दलाई पनि निष्ठुर बनाइदिन्छ।
समय बित्दै गयो, उनीसँगको कुराकानी गहिरिँदै गयो। उनको स्वर सुन्दै गर्दा यस्तो लाग्थ्यो, यो संसारको सबैभन्दा मधुर संगीत हो। उनले हरेक पललाई विशेष बनाउँदै गएकी थिइन्।
एकदिन मैले उनलाई साथी भनी सम्बोधन गरेँ। तर उनको जवाफले साथी शब्दसँगको घृणा दर्शायो। अनि मैले सोधेँ, “त्यसो भए हाम्रो सम्बन्धको नाम के हो त?” उनले मुस्कुराउँदै भनिन्, “के सबै कुरालाई कुनै नाम चाहिन्छ? कतिपय चीजहरू केवल अनुभव गर्ने हो, परिभाषा खोज्ने होइन। हाम्रो यो सम्बन्ध पनि त्यस्तै हो, जसलाई शब्दले बाँध्न सकिन्न।” उनका यी शब्दहरूले मेरो मनमा गहिरोसँग छोयो। यति धेरै भावना, यति धेरै मिठास। उनीसँग रहँदा लाग्थ्यो, संसारका सबै चिन्ताहरू एक क्षणमै हराएर जान्छन्।
दुबैलाई थाहा भएकै कुरा यो सम्बन्धले कुनै गन्तव्य पाउने छैन। जीवनका बाटाहरू अलग थिए। तर, हामीले यसलाई स्वीकारेका थियौं—शब्दभन्दा परको सम्बन्ध, समय र दूरीभन्दा परको सम्बन्ध।
एक साँझ अफिसपछिको उनीसँगको मिलनमा उनले शान्त स्वरमा भनिन्, “तिमी मेरो जीवनको एउटा अंश हौ। न त म तिमीलाई आफ्नो भन्न सक्छु, न त गुमाउन सक्छु। तर तिमीले मेरो जीवनलाई पूर्ण बनाएको छौ।” त्यसपछि हामी दुबैको केही छिनको मौनता रह्यो जहाँ अनगिन्ती कुरा थिए, जसलाई शब्दमा बयान गर्न सकिँदैनथ्यो। यो स्वत: बुझ्ने कुरा जस्तै भयो—यो सम्बन्ध कुनै नामले सीमित हुँदैन।
“नाम नदिई त संसारले यसलाई बुझ्दैन। सबैले केही न केही नाम राख्छन्,” मैले उनलाई भनेँ। उनले गहिरो स्वरमा उत्तर दिइन्, “हाम्रो सम्बन्ध अरूलाई बुझाउन होइन। यो त केवल तिमी र म बीचको कुरा हो। नामले त अपेक्षाहरू सिर्जना गर्छ, सीमाहरू खडा गर्छ। तर, के तिमीले मलाई कहिल्यै सीमित गर्न चाहन्छौ?” उनको प्रश्नको उत्तर दिन मेरो क्षमताले भ्याएन। मौनताले नै यो सम्बन्धको गहिराइ बयान गरिरहेको थियो।
“भन न त, के हामीले यसलाई केवल माया मान्न सक्छौँ?” मैले थप सोधे। उनले मुस्कुराउँदै जवाफ दिइन्, “माया पनि नाम हो। तर हाम्रो सम्बन्ध माया मात्र होइन। यो एक अनुभूति हो, जसलाई महसुस गर्न सकिन्छ, तर कहिल्यै पूर्ण रूपमा परिभाषित गर्न सकिँदैन।” त्यो क्षणमा मैले बुझेँ—साँच्चै, कुनै कुनै सम्बन्धको नाम हुँदैन। तर पनि अरू सम्बन्धभन्दा लगभग माथि नै हुन्छ। कारण, यसमा पुग्नु कहीँ हुँदैन, स्वार्थ केही हुँदैन।
उनीसँगको त्यो भेटपछि म र उनी चाहिँ घरजाने बेला भइसकेको थियो। आ-आफ्नो रूटको गाडीका लागि बस स्टपसम्म जानुपर्ने थियो। मेरो रूटको गाडी पहिले आयो र म त्यसमा चढेँ। गाडी चल्न सुरु भयो। उनले पछाडिबाट हेर्दै बिस्तारै हात उठाइन्। मैले गाडीको झ्यालबाट बाहिर हेरिरहेको थिएँ। शब्दहरू अझै अड्किएका थिए।
रातको समयमा उनको आकृति धुमिल हुँदै गएपछि आफ्नो मोवाइल निकाले र गीत सुन्न थालेँ । संयोगवश मेरो मोवाइलमा पनि नारायण गोपालको त्यही गीत बजिरहेको थियो— “तिमीलाई म के भनूँ, फूल भनूँ कि जून भनूँ…” जसले सम्बन्धको परिभाषा झन खोज्दै थियो। अन्तिममा उनले भने जस्तै गीतले पनि भन्यो, “तिमीलाई मनकी मायालू भनूँ।”
No Comment! Be the first one.