एउटा हँसिलो मुहार भएको युवक जसले आफ्नो पछाडि झोलामा नेपालको राष्ट्रिय झण्डा बडो गर्वका साथ बोकेको छ अनि ढाका टोपी शिरमा ढलक्क ढल्काएको छ । हिजो आज उसकै फोटोले सामाजिक संजाल अनि समाचारका पृष्ठ भरिएका छन् । उनलाई नेपाल र नेपालीको शिर उँचो बनाएकोमा बधाई दिन हैन उनको आत्माको चिरशान्तीका लागि । सायद बाँचेको भए ती हँसिला युवक नवराज वि.क. ले नेपालको प्रतिनिधित्व गर्दै साग राष्ट्रको भलिबल प्रतियोगितामा नेपाललाई स्वर्ण पदक दिलाउँथे होला, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम झनै फैलाउँथे होला, तर अपसोच त्यो सम्भावना अब सोतीका कथित उपल्लो जातले भेरी नदीमा बगाईदिए एक लाशको रूपमा, कहिल्यै नफर्किने गरी ।

कारण के थियो त एक होनहार युवाको हत्या हुनुको पछाडी ? कारण उनले कथित उपल्लो जातको एक युवतीसँग प्रेम साटासाट गरे । आफ्नो प्रेमलाई सदैव आफ्नै छेउमा राख्ने प्रयास गरे । जातीय आडम्बरयुक्त दानवहरुले घेरिएकी उनकी मुटुको टुक्रालाई आफ्नै बगैँचामा सजाउन चाहे । हाम्रो राष्ट्रिय गानमा भनिए जस्तै थुँगा थुँगा जोडेर एउटै माला बनाउन चाहन्थे । तर विडम्बना त्यो हुन पाएन । सबै खाई दिए ती दुष्ट आत्माले जो अरुको खुसी खान पनि माहिर हुन्छन् । सजिलै त उनले आफ्नी बेहुली बनाउन पाउँदैनथे तर आफ्ना साथीलाई साक्षी राखेर प्रेमलाई मूर्तरुप दिन लागेका उनी र उनका साथी आज मूर्दा भएका छन्, एक आततायी घटनाका परिणाम बनेर ।
यहि नरसंहारलाई लिएर हाम्रो समाज दुई तिर विभक्त भएको छ । केही भन्छन् “१८/१९ जनाको हुल बाँधेर आफ्ना १७ बर्षे नाबालिका छोरीलाई जवरजस्ती भगाएर लिन आउँदा नकुटेर के फूल मालाले स्वागत गर्ने त ?” र कोही भन्छन् “घटनालाई जातीय रंग दिईयो ।”,”आँफैले जन्माएर हुर्काएको बाबु आमाले उसको ज्वाँई, बुहारी चुन्न नपाउने ?”, ”नवराज र उनका साथीहरुलाई मारिएको होईन उनीहरु आफै भेरीमा हामफालेका कारण मृत्यु भएको हो । ”
अर्को पक्ष भन्छ “हैन, यो नितान्त जातीय कारण हो । नवराजसँग बिहे गर्न उमेर नपुगेकी छोरी अन्य ”जात मिल्ने” सँग बिहे गराई दिन चाहीँ मिल्ने ?” ” कथित उच्च जातको आडम्बर र रीसरागको उपज हो ।”,”नवराजलाई दलित भएकै कारण छोरी नदिईएको हो र उनको हत्या गरिएको हो ।”
तर वास्तविकता यो हो की यो अचानक घटेको नरसंहार होईन । बर्षौँदेखि झांगिएको प्रेमको तगारोलाई हटाउन त्यो जोडीले हर तरहको प्रयास गरेको थियो । सुष्मा मल्ललाई पाउन नवराजले पुलिसको कठघरामा रात बिताए, २ पटक कुटाई खाए र अन्तिममा सुष्माको ईच्छा विपरित विवाह हुन लागेको थाहा पाए पछि साथीभाइलाई लिएर (सुष्माकै आग्रहमा) सुष्मालाई लिन गए । नवराजलाई राम्रो सँग थाहा थियो कि एक्लै जाँदा खतरा हुन्छ, उनीमाथि पहिले जस्तै कुटपिट हुन सक्छ । त्यसैले उनले आफ्नो साथीको सहारा लिएर गए । तर उनी कुनै बन्दुक र हतियार लिएर युद्ध गर्न गएका थिएनन् । केबल सुष्मालाई लिनु थियो आफ्नो साथमा ।
होला कोही कोहीलाई १८/१९ जनाको हुल बाँधेर १७ बर्षे नाबालिका छोरीलाई जवरजस्ती भगाएर लिन जानु गलत काम हो तर त्यो गलत भयो भन्दैमा मारेर खोलामा फाल्दिनु चाहीँ सही हो ? उनले गलत बाटो रोजेको भए उपचारका लागि अनेक उपाय छन् । तर कसैलाई पनि करकापमा पारेर हत्या गर्नु अक्षम्य अपराध हो जसको जति नै निन्दा गरे पनि पुग्दैन । आफैँले जन्माएका छोराछोरी भए पनि उनीहरुको ईच्छा विपरित कोही कसैसँग बिहे गरिदिने काम पनि अपराध नै हो ।
नवराज एक प्रतिभावान् युवक हुन् । उनी राम्रोसँग भलिबल खेल्थे । खेलकुदमा राम्रो प्रदर्शन गरेका कारण नै उनलाई धेरैले चिन्थे र सुष्मा पनि त्यही कारण नजिक भएकी हुन् । दलित लगायत गैरदलित साथी समेत उनीसँगै बेहुली लिन गएका कारण यो पुष्टी हुन्छकी उनमा नेतृत्व गर्ने क्षमता पनि थियो । उनी साथीभाइ माझ राम्रो प्रभाव थियो । नेपाल प्रहरीको सिपाहीको लिखित परिक्षामा पनि पास भएको सुनिन्छ । एक ”एथ्लेट्स” लाई अरु साथीहरु तरेको भेरी नदी तर्न पनि खासै गाह्रो हुन्थेन होला । तर उनको लाश त्यही भेरी नदीमा भेटिन्छ । पक्कै पनि यहाँ धेरै कुराहरु शंकाको घेरामा छन् । क्रुर र अमानवीय हमलाबाट बाँच्न सकेकाहरुको बयानबाट नै यो घटना पूर्ण नियोजित हो भन्नेमा कुनै शंका छैन । प्रत्यक्षदर्शीका अनुसार उनीहरुलाई तीन तिरबाट घेरा हाली आक्रमण गरिएको थियो । उनलाई मरणासन्न हुने गरी पिटेर भेरी नदीमा फालिएको भन्ने कुरालाई माथिका तथ्यले पुष्टि गर्छ ।
राष्ट्रिय मानवअधिकार आयोगले २० औँ बार्षिकोत्सव मनाएको हप्तामा, अन्तरिम संसदले देश छुवाछुत मुक्त भएको घोषणा गरेको १४ बर्ष ( २१ जेष्ठ २०६३) पुगेको यो महिनामा, गणतन्त्र आएको १४ बर्ष पुगेको हप्तामा र नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको समयसम्म यस्ता घटना भईरहनुले हामीले जातीय छुवाछुत विरुद्ध गरेको पहल माथि प्रश्न चिन्ह खडा गरेको छ । के हामीले कल्पना गरेको समृद्ध नेपाल सुखी नेपाली यही हो ? समतामूलक नेपाल निर्माण भनेको यही हो ?
यो घटना पूर्ण रुपमा जातीय आडम्वरको ओतप्रोतले उब्जाएको हो । पटक पटक दलितले अमूल्य ज्यान गुमाउने तर पीडक प्रतिको दण्डहिनताले पश्रय पाएको परिणाम हो । जातीय भेदभावका घटनालाई नजरअन्दाज गरिएको उपज हो । थाहा छैन हाम्रो नेपालका अझै कति थुँगाहरु एउटै माला नभई चुँडिने हुन् ।
जातीय आडम्बरयुक्त दानवहरुले घेरिएकी उनकी मुटुको टुक्रालाई आफ्नै बगैँचामा सजाउन चाहे । हाम्रो राष्ट्रिय गानमा भनिए जस्तै थुँगा थुँगा जोडेर एउटै माला बनाउन चाहन्थे । तर विडम्बना त्यो हुन पाएन । सबै खाई दिए ती दुष्ट आत्माले जो अरुको खुसी खान पनि माहिर हुन्छन् ।
यो घटनाले धेरै चेत मनहरुलाई एकचोटी सोच्न बाध्य बनाईदिएको छ । हामी सबै नेपालमा बस्छौँ र हामी नेपाली हौँ । कुनै एक नेपालीले वा नेपाली भाषीले नेपालको नाम लिएर कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए मात्र भने पनि हामीले दिलोज्यानले उसलाई जिताउन लाग्छौँ, चाहे त्यो संगीत प्रतियोगिता होस् या विश्व सुन्दरी प्रतियोगिता । तर कुनै एक बालक यही नेपाल भित्र ‘नेपाली’ थर भएको बाबु आमाको घरमा जन्म लियो भने उसलाई किन पशु भन्दा पनि तल्लो स्तरमा बाँच्नुपर्ने हुन्छ ? कहिलेकाँही त लाग्छ यो देशमा कुनै एक अमुक जातलाई शुक्राणु देखिनै रोमान्स गर्ने छुट दिईराखेको छ । विभेद गर्ने आँट दिएको छ । व्यक्ति व्यक्ति बीच भेदभाव गर्ने वंशाणु दिएको छ
यस्ता घटनालाई सरकारले उच्च प्राथमिकताका साथ अनुसन्धान गरी दोषी उपर हदैसम्मको कार्वाही गर्नुपर्छ । राजनीतिक रंग दिई घटनालाई ढाकछोप गरिएमा त्यसको परिणाम हाम्रा सन्ततिले पनि भोग्नुपर्नेछ । यो कुनै सामान्य घटना होइन । यसले नेपाली हुनुमा फेरि एकपटक लज्जाबोध गराईदिएको छ । विश्वसामु नेपालको शिरलाई झुकाईदिएको छ ।
र, अन्त्यमा, प्रिय नवराज भाइ तिमीले आफ्नो पछाडि बोकेको झण्डा जिउँदो हुँदा बडो गर्वका साथ बोक्यौ तर तिम्रो आत्माले अहिले पनि नेपाली हुनुमा साँच्चिकै गर्व गरेको छ त ?
No Comment! Be the first one.